
वीरगञ्ज, ३१ वैशाख – निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धि, महँगी तथा सरकारले मूल्य समायोजन लागू नगरेको भन्दै नेपाल निर्माण व्यवसायी संघले देशव्यापी आन्दोलन सुरु गरेको छ। सोही कार्यक्रमअन्तर्गत पर्साका निर्माण व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएका छन्।
नेपाल निर्माण व्यवसायी संघ पर्साका पदाधिकारी तथा व्यवसायीहरूले निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको बताएका छन्। संघका अनुसार डिजेल, डण्डी, सिमेन्ट, बिटुमिनलगायत सामग्रीको मूल्य अत्यधिक बढ्दा पुरानै दररेटमा ठेक्का सञ्चालन गर्नुपर्ने बाध्यताले व्यवसायीहरू ठूलो घाटामा परेका छन्।
ज्ञापनपत्रमा सार्वजनिक खरिद नियमावलीमा मूल्य समायोजनको व्यवस्था भए पनि कार्यान्वयन नभएको गुनासो गरिएको छ। निर्माण क्षेत्रसँग लाखौं श्रमिक जोडिएको उल्लेख गर्दै सरकारले समयमै समस्या समाधान नगरे निर्माण क्षेत्र पूर्ण रूपमा ठप्प हुने चेतावनी समेत दिइएको छ।
संघका सञ्जय पटेलले देशव्यापी कार्यक्रमअन्तर्गत पर्सामा पनि ज्ञापनपत्र बुझाइएको जानकारी दिँदै माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने बताए।
संघले निर्माण सामग्रीको कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न, तत्काल मूल्य समायोजन लागू गर्न र निर्माण व्यवसायीमैत्री वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ।
वीरगञ्ज–रक्सौल नाकामा अटो रिक्सा चालकलाई लागू औषध दुर्व्यसनविरुद्ध सचेतना
वीरगञ्ज, ३० वैशाख
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्ज, पर्सा र ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरको संयुक्त आयोजनामा लागू औषध दुर्व्यसन रोकथाम तथा नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ।
वीरगञ्ज–रक्सौल मितेरीपुल क्षेत्रमा दैनिक रूपमा आवतजावत गर्ने अटो रिक्सा चालकहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा लागू औषधको दुष्प्रभाव, यसको सामाजिक असर तथा नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी बिकाश अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो भने ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षता रहेको थियो।उक्त कार्यक्रममा भारतिय एसएसबिका जवान एवं सामुदायिक प्रहरीका पदाधिकारी तथा अटो रिक्सा चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियोे।
कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी अधिकारीले लागू औषध दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै सीमावर्ती क्षेत्रमा सचेतना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक रहेको बताए। उनले अटो चालकहरू समाजसँग प्रत्यक्ष जोडिने भएकाले उनीहरूको भूमिका लागू औषध नियन्त्रण अभियानमा महत्वपूर्ण हुने धारणा व्यक्त गरे।
त्यसैगरी अध्यक्ष खेतानले युवापुस्तालाई दुर्व्यसनबाट जोगाउन समुदाय, प्रहरी तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताए। उनले समाजलाई सुरक्षित, स्वस्थ र सभ्य बनाउन यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।
कार्यक्रममा सहभागी अटो रिक्सा चालकहरूलाई लागू औषध सेवन तथा ओसारपसारका कानुनी परिणाम, स्वास्थ्यमा पर्ने असर तथा सामाजिक दुष्परिणामबारे जानकारी गराइएको थियो। साथै कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको आयोजकले जनाएको छ।
वीरगञ्ज मितेरीपुल क्षेत्रमा अटो चालकहरूलाई भेला गराई सम्पन्न गरिएको उक्त कार्यक्रमप्रति सहभागीहरूले सकारात्मक प्रतिक्रिया दिएका थिए।